भीषण बाढीले विद्युत् उत्पादनमा असर, ४३१ मेगावाट प्रणालीबाट बाहिर
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको विद्युत् उत्पादन प्रणालीमा ठूलो असर परेको छ। बाढीबाट प्रत्यक्ष प्रभावित तथा सुरक्षा सावधानीका कारण बन्द गरिएका आयोजनासहित कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रभावित आयोजनामध्ये नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गतको १११ मेगावाट रसुवागढी, २२ मेगावाट चिलिमे, तथा निजी क्षेत्रको २० मेगावाट लाङटाङ खोला जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन्।
त्यस्तै, ७८ मेगावाट सान्जेन (सलासुङ्गी), ४२.५ मेगावाट सान्जेन, १४.८ मेगावाट माथिल्लो सान्जेन, ६० मेगावाट माथिल्लो त्रिशूली–३ ‘ए’, १४.८ मेगावाट माथिल्लो मैलुङ, ५ मेगावाट मैलुङ, २४ मेगावाट त्रिशूली, १४ मेगावाट देवीघाट तथा २५ मेगावाट प्राधिकरणको सौर्य आयोजना समेत प्रभावित बनेका छन्।
बाढीको जोखिम कम नभएसम्म आयोजनाको संरचना, प्रसारण लाइन तथा पहुँचमार्गको प्राविधिक निरीक्षणपछि मात्र उत्पादन पुनः सञ्चालन गर्न सकिने देखिएको छ। उत्पादन प्रणालीबाट एकैपटक ठूलो क्षमता बाहिरिँदा विद्युत् आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ।