काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गएको न्यूनचापीय मौसम प्रणालीका कारण आगामी असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा भारी वर्षाको सम्भावना देखिएको छ। प्रारम्भिक मौसम मोडलअनुसार विशेषगरी शुक्रबार रातिदेखि लुम्बिनीको पश्चिमी क्षेत्र, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म भारीदेखि अति भारी वर्षाको जोखिम रहन सक्ने अनुमान गरिएको छ।
वर्षाको मात्रा, प्रणालीको गति र प्रभाव क्षेत्रबारे अझै पूर्ण यकिन भइनसके पनि लगातार तीनदेखि चार दिन वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निर्माणाधीन पुल, सडक, सिँचाइ, जलविद्युत् तथा अन्य पूर्वाधार आयोजनामा तत्काल पूर्वतयारी आवश्यक देखिएको छ।
नदी–खोला आसपासका आयोजना, चुरे तथा पहाडी सडक, कटिङ क्षेत्र, अस्थायी पहुँचमार्ग, स्काफोल्डिङ, निर्माण सामग्री भण्डारण र श्रमिक बासस्थान बढी जोखिममा पर्न सक्छन्। बाढी, डुबान, पहिरो, सडक अवरोध तथा उपकरण क्षतिको जोखिम बढ्न सक्ने भएकाले साइट व्यवस्थापनमा विशेष सतर्कता अपनाउनुपर्छ।
सबै निर्माण व्यवसायी ले आफ्ना परियोजनाको बीमा, स्टक बीमा, उपकरण तथा औजारको बीमा, सवारीसाधन बीमा र तेस्रो पक्ष दायित्व बीमाको म्याद तथा जोखिम कवरेज तत्काल जाँच गर्नुपर्छ। बीमामा बाढी, डुबान, पहिरो तथा प्राकृतिक प्रकोपबाट हुने क्षति समेटिएको छ वा छैन भन्ने विषय पनि स्पष्ट गर्नुपर्छ।
निर्माणस्थलमा राखिएका सिमेन्ट, स्टिल, एग्रिगेट, इन्धन, विद्युत् सामग्री, मेसिनरी तथा अन्य स्टक सुरक्षित स्थानमा छन् वा छैनन् जाँच गरी जोखिमयुक्त क्षेत्रमा रहेका सामग्री र उपकरणलाई सम्भव भएसम्म उचाइ तथा सुरक्षित स्थानमा सार्नुपर्छ।
Bidpatra.com सबै निर्माण व्यवसायी, साइट व्यवस्थापक र उपकरण सञ्चालकलाई आग्रह गर्दछ—असोज ८ देखि १२ गतेसम्म विशेष सतर्क रहनुहोस्, परियोजना तथा स्टक बीमा जाँच गर्नुहोस्, उपकरण सुरक्षित राख्नुहोस् र आधिकारिक मौसम तथा विपद् सूचना नियमित हेर्नुहोस्।